नाङ्गिदैछिन् द्रौपदी

रमेश न्यौपाने

दुर्योधन तानिरहेछ द्रौपदीको सारी,
अब लाज ढाकिदिने कुनै कृष्णहरु छैनन् यहाँ ।

सभामा युधिष्ठिर छन्,
भीम छन्,
अर्जुन छन्,
र छन् - नकुल र सहदेव,
महोदय ! चुपचाप हेरीरहेछन् तमासा यी सबै ।

जुवामा जितेपछि दुर्योधन
फुकाईरहेछ सारी द्रौपदीको,
नाङ्गिदैछिन् द्रौपदी,
र, छैनन् कृष्णका अदृश्य हातहरु अब ।

बाजी जित्नेले त तान्यो सारी,
तानिरहेछ-
तर आश्चर्य!
बाजी हार्नेहरु अर्थात-,
युधिष्ठिर-,
भीम-,
अर्जुन-,
नकुल र सहदेव पनि,
उसैगरी बजाईरहेछन् ताली-जित्नेले झैं,
खुब रमाईरहेछन‍् द्रौपदी नाङ्गिईरहेको यो तमासामा ।

लाज ढाकिदिने कुनै कृष्णहरु छैनन्- अब,
क्रमशस् नाङ्गिदैछिन् द्रौपदी ।
दुर्योधन तानिरहेछ द्रौपदीको सारी ।

काठमाडौ, रत्नराज्य लक्ष्मी क्याम्पस

रारासँग मेरो प्रेम

अनिता शिवाकोटी

"चोखो छ है, यो मेरो माया
राराको सङ्गलो पानी जस्तै,
चोखो छ है... ।"

किनारमा बसेर राराको पानी छुँदै छालसँगै मन्त्रमुग्ध हुँदै स्वस्फूर्त रूपमा हामीले पनि धेरैपटक यही गीत गुन्‍गुनायौँ । हावामा फैलिँदै गएका हाम्रा ती सामूहिक स्वरहरू खै कहाँ एक्कैछिनमा हराउँथे, अनि फेरि हामी टुक्रा-टाक्री जोड्‍दै अर्को गीत गुन्गुनाईहाल्थ्यौँ । आकाशमा झल्किएको जून, गोलबद्ध भएका हामी, अनि एकसुरले सङ्गीत निकालिरहेको राराको छाल । स्वर्गीय आनन्दलाई शव्दमा व्यक्त गर्ने सामर्थ्य हराउँदै गएपछि हामी सबैजना चुपलागेर रारामा टोलायौं । लामो समयसम्म एकोहोरिएर राराको सङ्गीत सुनिरह्‍यौँ । रारा ताललाई जिस्काउँदै बेला-बेलामा देखापरिरहेको जून, अनि किनारामा बसेर जूनको प्रतिक्षा गरिरहेका हामी । साँच्चै नै जूनले रारासँग हैन हामीसँग लुकामारी खेलिरहेको थियो । हुन त काठमाडौँमा पनि जून नदेखेको हैन, तरपनि तालमा चम्किएको जूनले बेग्दै आनन्द दिईरहेको थियो ।

नेपालगञ्जको विमानस्थलबाट चील झैँ उडेको यती एयरलाईन्सको विमानबाट कहीँ उजाड डाँडा अनि कहीँ मनै लोभ्याउने पहाडसँग लुकामारी खेल्दै हामीले त्यो रमाइलो यात्राको सुरूवात गरेका थियौँ । हुन त हाम्रो यात्राको लक्ष्य रारा ताल हेर्नु नभएर मुगुको सदरमुकाम गमगढीमा 'डोको रेडियो' सञ्चालन गर्ने थियो । तरपनि यात्राको अन्तिम दिन हामीले राराको लागि छुट्‍याएका थियौँ । शिक्षा स्वास्थ्य, यातायात, बिजुली जस्ता विकासका हरेक कुराबाट बञ्चित मुगालीको लागि आँगनमा रेडियो स्टेसन पुग्नु अनि आफैँले गाएका गीत, बोलेका आवाज रेडियोमा सुन्न पाउनु कम खुसिको कुरा थिएन । त्यस बेला गमगढी बजारमा ठूलै मेला लागेको थियो । मानिसहरूको चहलपहल बजारमा थामिनसक्नु थियो । सबैलाई खुसि देख्दा हामी पनि खुसि भयौँ ।

डोको रेडियो सञ्चालनको अवधि सकिएपछि हामी रारा ताल जान तालचा एयरपोर्टमा सामान राख्न गयौँ । यातायातको अभावले गर्दा खच्चरहरू हाम्रो सामान लिएर एयरपोर्ट तिर लागे । हामी पनि सबैसँग बिदावारी हुँदै खच्चरको पछि-पछि लाग्यौँ । गाडी गुड्‍ने बाटो नभएका कारण खच्चरलाई सामान बोकाउन विवश छन‍ मुगालीहरू । हामी तीन-चार दिन बस्नेहरूका लागि त यति गाह्रो भयो भने, उनीहरू आफ्नो सारा जीवन कसरी कसरी बिताइरहेका होलान्? मनमा कुरा खेलिरहे ।

बाटोमा कुनै पसल थिएन, लगेको खानेकुरा सबै सकिएपछि भोकले लखतरान हुँदै हामी तालचा एयरपोर्ट पुग्यौँ । बल्ल-बल्ल भेटिएको सानो होटल हाम्रा लागि सबैथोक भयो । होटलमा चाउचाउ पकाएर खायौँ अनि केही बोकेर सुरू गर्‍यौँ- नेपालकै सबैभन्दा ठूलो ताल, रारा हेर्ने यात्रा ।

बाटोमा भेटिएका हरिया चौर, विभिन्न आकारका धुपी बोटहरू, अनि साउती मारिरहेका सल्लासँग हामी पनि साउती मार्दै हिँड्‍यौँ । बाटो छेउछाउमा सेता पहेँला र रङ्गीबिरङ्गी बुकी फूलहरू फुलिरहेका थिए । छ जनाको हाम्रो समूहिक यात्रामा हाम्रा दुई साथीले बाटोभरि गजलका सेरहरू गाउँदै यात्राको रौनकता बढाईरहेका थिए । बाँकी हामी पनि बेलाबेलामा सुरमा सुर थप्दै उनीहरूलाई साथ दिइरहेका थियौँ । हुन त हरेक यात्रा अविष्मरणीय नै हुन्छन्, तर राराको रमाइलो यात्रा गर्ने सैभाग्य पाउने थोरै नेपालीमा म पनि परेँ भन्ने पनि सँगै सम्झिने कुरा भए मेरा लागि । बिहानैदेखि उकालो लाग्दा थाकेका खुट्टा अनि भोको पेट बिर्सन त्यो उत्साहले हामीलाई क्याटलिस्टको काम गरिरहेको थियो । के भोक के प्यास सबै कुरालाई मेट्‍ने एउटै अभिलाषा थियो हामीसँग रारा तालको सौन्दर्यतालाई चुम्ने । तालचा एयरपोर्टबाट झण्डै दुई घण्टा लामो उकालो आरालो बाटो पार गरेपछि हामीले रारालाई पहिलो पटक देख्यौँ ।

झण्डै दिउँसोको तीन बजेको हुनुपर्छ, हामीले रारालाई पहिलो पटक देख्दा । बीचबाट सोरिँदै आएको त्यो छाल किनारमा ठोक्किँदा लाग्छ, कुनै ठूलै चिज वेगले पहाडमा ठोक्कियो । त्यो छत्ल्याङ्ग आवाज बारम्बार हाम्रो कानमा बजिरहन्छ । तालमा उत्पन्न भएका तरङ्ग हाम्रो मन सम्म पुग्छ अनि स्वत: स्फूर्त रूपमा निस्कन थाल्छ-
"मनको माया हजुरको कहिले पाउने हो ?
डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो?... ।"

तराईका साना-साना ताल र काठमाण्डौँको रानीपोखरी, बाहेक मैले देखेको ठूलो ताल भनेको पोखराको फेवाताल मात्र थियो । सोचेको थिए फेवाताल भन्दा केही ठूलो त होला । तर मेरो आँकलन मिलेन । जङ्गलको बीचमा आँखाले भ्याएसम्म फैलिएको राराताल टेलिभिजनको पर्दामा देखिएका समुद्रको मोहक दृश्य झैँ लागिरहेको थियो । अपरान्हपछि तालमा छाल आउने भएकाले हामी तालको बीचसम्म जान सकेनौँ । रारालाई किनारमा उभिएर धेरैबेर सम्म हेर्‍यौं । राराको छालले हाम्रो सबै थकान मेटिईसकेको थियो । काठमाण्डौँको प्रदुषित वातावरणमा बस्ने हामीलाई यति स्वच्छ ठाउँमा आउन पाउनु भाग्यकै कुरा हो । रारालाई हेरिरहँदा मेरो मनमा एउटै मात्र कुरा खेलिरहेको थियो, यति मनमोहक र विशाल ताल किन छायाँमा पर्‍यो? हुन त राम्रो कुरा पाउनका लागि धेरै दु:ख गर्नुपर्छ भन्छन् । त्यै भएर होला रारासम्म बाटो नपुगेको, अनि विश्वको आँखा पुग्नुपर्ने ठाँउमा नेपालीका समेत आँखा पुग्न नसकेका । बाटोको सुबिधा भएमा कत्ति पर्यटक आउने थिए होलान् यहाँ? अनि पर्यटकीय स्थलको रूपमा मुगुलाई विकास गर्न सकिन्थ्यो । त्यसबाट मुगालीको पनि विभिन्न किसिमले सहयोग हुनसक्थ्यो । हाम्रो मनमा उठेका यस्तै छालहरु सँगाल्दै, हामी उर्लिरहेको राराको छाललाई त्यहीँ छोडेर राती १०:३० तिर आफ्नो बासस्थानतिर लाग्यौं ।

बिहान उठ्‍दा, ६ बजिसकेछ । राती रिसाएको रारालाई हेर्न हतार हतार बाहिर निस्किएँ । तर रारालाई मैले सोचेको जस्तो पाईन । उ त मौन थियो । मानौँ आफ्नो मनका सबै वेदना आँसुसँगै पोखिएर सकिएछ । बिहान त शान्त रारामा घामका किरण पर्दा पानीका फोका मोती झैँ टल्केका थिए । मोतीदाना तालभरि छरिएर चम्केकाथे । आखाँले भ्याएसम्म फैलिएको रारालाई किनारमा बसेर फेरि एकपटक हेरेँ, हाम्रो मौन वार्ता भैरहेको थियो । राराको त्यो रूप देखेर म भित्र भित्रै मोहित भैरहेको थिएँ । नेपालकै यती रमणीय राराताललाई धेरैले देख्न पाएका छैनन् । मैले रारालाई देख्न पाएँ, छुन पाएँ, उसलाई आफूमा समाहित गर्न पाएँ । मलाई आफूले जीवनकै कुनै महत्वपूर्ण कुरा गुमाइरहेको रहेछु जस्तो लाग्यो त्यस बेला । झन् उसले मलाई हेरेर मुस्कुराई दिँदा म भुतुक्कै भएकोथेँ । उसको त्यही मुस्कानले त मलाई बिहानीको त्यो चिसोसँग पनि पौँठेजोरी खेल्दै चम्किएका मोती दानालाई पटक पटक आँखा भरी कैद गर्ने साहस दिएको थियो ।

बिहान देखापरेको शान्त राराको त्यो मनमोहक रूप पनि मलाई निक्कै मन पर्‍यो । चाहना त लामो समय रारासँगै बिताउने थियो तर समयका विरूद्ध को नै पो जान सकेको छ र? अरू साथीसँगै मलाई पनि त्यहाँबाट फर्किनु नै थियो । मन बुझाउनै पर्‍यो । जे भएपनि नेपालमा पुग्नैपर्ने ठाउँहरूमध्ये एक रारा तालको किनारामा रात बिताउन पाउनु कम खुसीको कुरा हैन । बिहानै रारासँग जिस्कदै हामी फेरि राराको किनारै किनार फर्कियौँ । झण्डै एक घण्टा भन्दा लामो राराको किनारै किनार यात्रा गरेपछि, अन्तिम पटक रारालाई हेरेर हामी उकालियौँ । आँखामा रारा ताल नाचिरह्यो । त्यो जोसमा कत्ति चाँडो बाटो काटिएछ थाहै भएन । जाँदाखेरी झण्डै छ घण्टा लागेको बाटो हामीले दुई घण्टामै पार गरेछौँ । सायद अब फेरि रारासँग मेरो भेट नहुन पनि सक्छ, म यस्तै यस्तै सोचिरहेको थिएँ । त्यो निस्ठूरी रारा मेरो मनको कुरा, के बुझी होला र? तर तालचा एयरपोर्टमा आएर फेरि चील झैँ आकाशमा पुगेका हामीलाई राराको अर्को रूपको दर्शन मिल्यो । ठूलो थालमा भरिएको पानी झैँ उ हाम्रो बिदाईका लागि अर्को रूप लिएर आएकी थिई र हामीलाई बिदाईको हात हल्लाईरहेकी थिई । मैले क्यामरामा कैद गरेका केही दृश्य, अनि मेरो मस्तिस्कले कैद गरेका केही क्षणहरु नै राराको चिनो भएका छन् मेरा लागि ।

गजल

समृद्घि 'शायद'

आंशुलाई टल्काउने प्रभात हुन सक्नु पर्छ
फुटेका मन जोड्ने सौगात हुन सक्नु पर्छ

फुल्दा गुलाफ मात्र हैन चढ्ने देउतालाई
हांगावाट झरे'सी पारिजात हुन सक्नु पर्छ

कस्ले भन्छ विश्वासको खडेरी छ हामी वीच
एउटै मान्छे पनि जमात हुन सक्नु पर्छ

हृदय सगरमाथा आँखामा बुद्घ हरेकको
फिलिंगो विप्लवको उत्पात हुनसक्नु पर्छ

धाँजा धाँजा नहुन सक्छन् समय र मनहरू
बाफिएर आफैं पनि वर्षात हुन सक्नु पर्छ

मेरी आमाको जुनी

सङ्‍गीतस्रोता

तिमी सामू भर्खरै आईपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
अभावको आँधीले लछारेको घुम्रे कपाल
शोषणको घामले डढेको उदास अनुहार
दु:खको कुवामा डुबेका अनिंदा आँखा
बारम्बार अँधेरी गौंडामा ठोकिएको निधार
र युगभरिको पीडा घोलिएको एउटा गहिरो सुस्केरा ।

तिमीसामू भर्खरै आइपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
परम्पराको भारीले कुप्राएको करकरी खाने ढाड
विभेदका जङ्‍गली काँडाले कोतरिएको घाइते मुटु
भोकका विरुद्ध पटुका कसिएको अभागी पेट
बिमारको असिनापानीले हिनामिना पारेको ज्यान
र सयथरि त्रासले उब्जाएको एउटा अनन्त छटपटी ।

मेरी आमाको जुनीले
चौतारीतिर चिहायो-
त्यहाँ जुवाडेहरु तास फिटिरहेका थिए
वल्लोपट्टी पल्लोपट्टी भलाद्‍मीहरु जूँगामा ताउ लगाईरहेका थिए
धर्मशालामा हेर्‍यो-
त्यहाँ लुटेराहरुको बैठक चलिरहेको थियो
सरकारी घरमा
चोरहरु झगडा गरिरहेका थिए
नाटकघरमा
नवयौवनाको नृत्य चलिरहेको थियो
दोहोरी साँझमा धनाढ्‍यहरु कम्मर भाँचिरहेका थिए
मेरी आमाको जुनीले
गायकको गला खोज्दै गयो-
त्यहाँ त चन्द्रशमशेरको कर्खा र गोपिनीको गीत थियो
कविताका पंक्तिहरुमा भगवान‌‍का भजनहरु बजिरहेका थिए
इतिहासका पानामा
शासकका अनुहारहरु टाँस्सिएका थिए
र सङग्रहालयका प्रत्येक कोठामा पनि
राजा र सेनापतिका लुगाफाटा सजाइएका थिए ।

कतैतिर पनि
बस्न, सास फेर्न र सुस्ताउन नपाएपछि
मेरी आमाको जुनी
घृणा, उपेक्षा र तिरस्कारका आक्रमणहरु खप्दै
भौंतारिंदै-भौंतारिंदै
तीव्र गतिमा चलेका एक-एक थान मुटु र फोक्सो बोकेर
तिमीसामू भर्खरै आइपुगेको छ
प्रिय कलाकार !
के तिम्रो क्यानभासमा कतै अलिकति ठाउँ छ ?

बाजुङ, पर्वत

गजल



दुख्ने गर्छ मुटु मेरो
डुब्दा बिगतका तलाऊहरु।

चर्किने गर्छ स्मृतीको पटमा
तिमीले दिएका घाउहरु।

स्वर्ग जस्तै थिए हिंजो
हामी घुमेको रमाईलो गाउँहरु।

नर्क तुल्य भएको छ आज
मेरो निम्ती त्यही ठाउँहरु।

मैले हारी तिमीले जित्नु पर्ने
थाहै नदिई कस्तो खेल्यौ दाउहरु।

बेवारीसे लाश जस्तै तिरस्कृत हुदै
कति चालौ जिन्दगीका गह्रौ यी पाऊहरु।

तिरस्कृत किनारमा उभी आज
पर्खि रहेछु पार तर्ने नाउहरु।

बि जे बान्तवा राई
भोजपुर

ईश्वरको अदालतमा आउटसाइडरको बयान

सङ्गीता पाण्डे २००८ जुलाई ६ आइतबार अपराहृन ३ बजे मार्टिन चौतारी, थापाथलीको हलमा ईश्वरको अदालतमा आउटसाइडरको बयान पुस्तकमाथि छलफल भइरहँदाको एक दृश्य।

मार्टिन चौतारीको यसपालीको साहित्यिक छलफल श्रृङ्‍खलामा मोमिलाद्वारा लिखित निबन्धसङ्‍ग्रह 'ईश्वरको अदालतमा आउटसाइडरको बयान' पुस्तकमाथि छलफल भयो । (मार्टिन चौतारीमा अंग्रजी महिनाको प्रत्येक पहिलो आइतबार दिउँसो ३ बजे साहित्यिक कृतिमाथि छलफल हुन्छ ।) उक्त कार्यक्रमका पण्डित (मार्टिन चौतारीमा वक्तालाई पण्डित भनिन्छ ।) धर्मेन्द्र नेम्वाङ्ग र डा. ज्ञानु पाण्डेले पुस्तकको समीक्षा गर्ने जिम्मा पाएका थिए ।

कार्यक्रममा सहभागी भएका युवा जमातलाई सोध्दा मैले समग्रमा यस्तो जवाफ पाएँ- "यो किताब पढ्‍दा जति बुझ्न गाह्रो छ त्यस्तै धर्मेन्द्र नेम्वाङ्गको प्रस्तुति(समीक्षा) बुझ्न गाह्रो भयो । अनि प्रस्तुति अलि लामो भयो ।" डा. ज्ञानु पाण्डेले बोलेपछि, उनको छोटो र मीठो प्रस्तुति सबैले मनपराएको जस्तो अनुभव गरेँ । यो पुस्तकमा भूमिका लेख्ने दुर्गा भण्डारी र मन्तव्य लेख्ने डा. वानीरा गिरीले त "यो पुस्तक यही हो" भनेर कुनै किटान गर्नसक्नु भएको छैन, वा गर्न रुचाउनुभएन भने उक्त छलफलमा उपस्थित साहित्यकार र साहित्यमा सामान्य रूची राख्ने अरूलाई यस पुस्तक माथि खुल्दुली लाग्नु स्वभाविकै थियो । कार्यक्रम सुरू हुनुभन्दा केही अघि नै मैले मेरा एक साथीलाई सोधेँ- "किताब कस्तो लाग्यो त ?" । उनले जवाफ दिए- "हिँड्‍दैछ पाइला मेट्‍दैछ ।" अर्थात उनको भनाइको अर्थ हो पढुन्जेल पुस्तकको भाषाशैलीले तान्छ तर शीर्षक अनुसार के भन्न खोजिएको हो ? पटक्कै बुझिँदैन । एउटै कुरा दोहोर्‍याई, तेहेर्‍याई आएको छ र जुन पढे पनि कुरा एउटै र शीर्षकमात्र फरक लाग्छ । डा. ज्ञानु पाण्डेले मोमिलालाई बुझ्नेले यो किताब बुझ्छन्, मोमिला आफैँले भोगेका कुराहरू छन् भन्नु भयो । त्यसो हो भने के यो पुस्तक लेखिकाको आत्मवृत्तान्त हो त ? आत्मवृत्तान्त, आत्मलाप भन्न पनि मिल्दैन किनभने हरेक घटना क्रमबद्धरूपमा परिस्कृत भएकै छैनन् र अर्र्का कुरा लेखिकाले यस पुस्तकमा प्रस्तुत गरेको आफ्नो मनतव्यमा यो मेरो आफ्नै भोगाई हो भनेर भनेकी पनि छैनन् । त्यसपछि पाण्डे पछि पालो आयो निबन्धकार मोमिलाको, उनले पनि "भोगेकै कुरा लेखेकी हुँ मैले" भनिन् । हुन त स्रष्टाले भोगेकै कुराहरूकै आधारमा केही कुरा लेख्ने हो ।

जो कोही मान्छेहरूमा दुई आत्मा हुन्छ, भनिन्छ । अर्थात् मस्तिष्क र मन त्यस्तै मोमिलाका दुई आत्माबीचको सङ्‍घर्ष र संवाद यस पुस्तकमा पाइन्छ । विभिन्न शीर्षकहरूलाई हटाएर पढ्‍दा पनि फरक नपर्ने उनको यो कृति उनको जीवनदर्शन हो । उनको यो दर्शनमा कामुको प्रभाव प्रसस्तै देखिन्छ । दर्शनमा जटिल कुरालाई सरल ढङ्गबाट बुझाउन खोजिन्छ तर यहाँ त अलि जटिल रूपमै प्रस्तुत गरेर, समय, अतित, जीवन मृत्यु, अनुभूति, संवेग, ईश्वर, प्रेम, पीडाहरूलाई पोख्दै, पहिचान गर्दै, सङ्‍घर्ष गर्दै, विद्रोह गर्दै अघि बढ्‍दै गएको भान हुन्छ । तर के मोमिलाले सही पहिचानमा यस कृतिमा आफूलाई उभ्याउन सकिन् त ? उनी आफैँ रुमलिएकी छिन्, आफ्नो अस्तित्वको खोजीमा आफैँ कता-कता हराएकी छिन् ।

पढ्‍दै जाँदा यस्तो लाग्छ कुनै प्रेमिकाले आफ्नो प्रमीसँग बिछोड हुँदाको चोटमा उसैलार्इ लेखेका प्रेममत्रहरू हुन्, जहाँ उ प्रतिका विद्रोही आवाजहरू निस्केका छन् । यस पुस्तकमा उनी खाली वहकिएकी मात्र छिन् । अर्थात् यस पुस्तकमा उनी flow, flow मात्र भएकी छिन्, जहाँ बग्दै बग्दै एउटा विन्दु, एउटा गन्तव्यमा वा मानौँ समुन्द्रमा मिसिनु पर्थ्यो । के उनी त्यहाँसम्म पुगिन ? आज स्वयम् यस पुस्तकले उनलाई नै प्रति प्रश्न गरे जस्तो लाग्छ ।

म त यस पुस्तकको प्रत्येक शीर्षक अनुसार लेखिकाले के भन्न खोजेको हो भनेर गहिरिएर पढ्‍दै थिएँ । प्रकृति र कलाको रोमान्टिक मूर्छनामा अतितजस्तो सुकै कष्टकर भएपनि बडो आदरका साथ, आत्मसाथ गरेर Bye भन्दै एक-एक पाइलामा कर्मको फूल फुलाउँदै हिँड्‍ने अठोट गरेको, त्यस्तै जीवनमा भोग्नुपरेका दु:ख स्वीकार गर्दै, जतिसुकै कुरा होस् त्यसभन्दा पनि उच्च मान्छेको आफ्नै जीवन हो, त्यसमा पनि वर्तमान जीवन मात्र मान्छेको आफ्नो हो, भन्ने कुरा प्रष्ट्‍याउन चाहेको जस्तो लाग्यो । लेखिका यहाँ आशावादी देखिन्छिन् र आशावादी हुनु पर्ने नै सन्देश दिएको जस्तो लाग्यो । त्यस्तै "पुरातात्विक सहरमा एक आउटसाइडर कृतिमा धर्म र संस्कृतिको नाममा आ-आफूलाई ठूलो ठान्नेप्रति व्यङ्‍ग्य गरिएको छ । र धार्मिक सहिष्णुताको कुरालाई औँल्याएको देखिन्छ । 'इतिहासको संस्करणमा' एउटै समयमा विभिन्न घटनाहरू भइरहेछन् भन्दै नेपालमा भएको कालरात्रीको प्रेमहत्या सम्बन्धी घटना पनि पाठकलाई संस्मरण गराएकी छिन् । यसरी सरसरती हेर्दा शीर्षक अनुसार केही न केही कुरा नौलो ढङ्गले प्रस्तुत भएको देखिन्छ ।

यो पुस्तक वास्तवमा नौलो प्रस्तुति बोकेर आएको छ । यस पुस्तकले समस्त पाठक वर्गलाई एउटा बेग्लै स्वाद दिएको छ । अन्तयमा भन्दा यो एउटा नौलो ढङ्गबाट प्रस्तुत गरिएको निबन्ध सङ्‍ग्रह हो जसमा उनले आफ्नो जीवनदर्शनलाई कलात्मक ढङ्गले प्रस्तुत गरेकी छिन् ।

फर्केको खोलो

अनिता दुलाल
मिर्मिरेमै सुन्तली पानी लिन डोकोमा गाग्रो बोकेर पँधेरोतिर लाग्छे । पँधेरो गाउँबाट धेरै टाढा थिएन । वनजङ्गलको हरियाली, चराचुरुङ्गीहरूको मधूर गुञ्जन, अन्य प्राकृतिक छटाले भरिपूर्ण उसको गाउँ रमाइलो थियो । उ गुनगुनाउँदै पधेँरो पुग्छे ।
पधेँरोमा धेरै आईमाईहरू पानी भर्न पालो पर्खेर बसेका थिए । उनीहरू आ-आफ्नै कुरामा व्यस्त थिए । सुन्तली पधेँरोतिर एक पाइला सार्न नपाउँदै एउटी अधबैँसे आईमाई कराउन थाल्छे- "तँ अछुत पनि पानी लिन आइस् ? पर जा ! सबैले लिइसकेपछि मात्र पाउँछेस् ।" यस्तै-यस्तै वचनहरू एकपछि अर्को गर्दै सबैले भन्छन् । त्यस्ता वचनले उसको मन रुन्छ, अनि आँखा ।

सबै गइसकेपछि उ पछयौरीले आँसु पुछ्‍दै पानी भर्छे । पिठ्‍यूँमा पानीको गाग्रो अनि गहभरि आँसु लिएर सुन्तली घर पुग्छे। उसको लोग्ने घनश्याम दलानमा बसेर लुगा सिउँदै हुन्छ । सुन्तलीको आँसु देखेर 'के भयो' भनी सोध्छ। सुन्तलीले पँधेरोमा भएका सारा कुरा बताउँछे। घटनाको वृतान्त सुनिसकेपछि घनश्यामको मन अशान्त हुन्छ। सुन्तलीको जस्तै उसको मन पनि पीडाले भत्तभत्ती पोल्छ। उसको आँखाबाट आँसुका दुईचार थोपा खस्छन्। आँसु पछ्‍दै उनीहरू आफ्नो भाग्यलाई दोष दिदै मन बुझाउने प्रयत्न गर्छन्।

त्यसपछि सुन्तली भान्साको काम गर्न भित्र पस्न लाग्दा गाउँका सर्वमान्य व्यक्ति जितमान मुखिया आइपुग्छन्। बाहिर लुगा सिउँदै गरेको घनश्यामले मुखियालाई देख्छ र हतार-हतार सियो फाल्दै मुखियाको लागि भनेर गुन्द्री ओछ्‍याउँछ र बस्न अनुरोध गर्छ। मुखिया झोक्किँदै कराउँछन्- 'तँ दमाईको घरमा बसेर मलाई जात फाल्नु छैन, बुझिस‍ ओइ डुम ?' मुखिया घनश्यामलाई ठूल्ठूला आँखाले तर्दै गाली गर्दै हुन्छन्। मुखियालाई दिन अम्खोरामा पानी लिएर आएकी सुन्तली मुखियाको प्रचण्ड स्वर सुनेर डरले खङ्‍रङ्ग हुन्छे। उ थरर काम्छे अनि अम्खोरा भूँइमा राखेर भित्तोमा अढेस लाग्छे। त्यस बेलासम्म उसले अघि पँधेरोमा भएको घटना बिर्सिसकेकी थिई। अहिले उ पँधेरोको घटना र अहिले उसको आगनको प्रत्यक्ष दृष्य एकैचोटी देखिरहेकी छे।

सुन्तलीले आफूलाई पानी दिन ल्याएकी थिइ भन्ने कुरा मुखियाले बुझ्छन्। त्यसपछि कुद्‍दै गएर भूँइमा राखेको आम्खोरालाई लात्ताले हानेर लडाई दिन्छन‍। गाउँमा नयाँ आएको दमाइले सिलाउँदा आफ्नो कपडा त बिगारेन भनेर हेर्न आएका मुखिया रिसाउँदै त्यत्तिकै फर्किन्छन‍। मुखियाले जस्तो व्यवहार गरे पनि सहेर बस्नु सिवाय उनीहरूसँग अर्को विकल्प हुँदैन। उनीहरू आएको गाउँमा पनि माथ्ला जातकाले छोइछिटो गर्दै नगर्ने होइनन्। तर सबैले मान्ने गाउँकै ठूला मान्छे मुखियासँग भने उनीहरुको यसभन्दा पहिले यस्तो कहिल्यै भएको थिएन। उनीहरू अर्को छिमेकी जिल्लाबाट बँसाई सरेर आएको महिना दिन पनि भएको थिएन। गाउँलेहरूसँग घुलमिल पनि भएका थिएनन्। गाउँमा भएको दुर्इचार घर दलित परिवारसँग मात्र उनीहरूको आउजाउ हुनथालेको थियो।

त्यो घटना भएको केही महिनापछि गाउँभरि दशैंको रौनक छाउँछ। सारा गाउँ रमाइलोमा चुर्लुम्म डुब्छ। सुन्तली र घनश्यामको दैलोमा पनि दशैं त आउँछ तर खुसी आउँदैन। बरु फेरि एउटा अर्को दु:ख पर्छ उनीहरूलाई। दशैँको दिन उनीहरू गाउँ नजिकैको मन्दिर जान भनेर निस्किन्छन्। गाउँलेको दशैंको रमभmम देखेर उनीहरू आफ्नो घरको दशैं बिर्सन्छन्। तर मन्दिरमा दर्शन गर्न गएका उनीहरूलाई पुजारीले गाईवस्तु धपाएजस्तै गरी घोक्र्‍याएर बाहिर निकालिदिन्छ। र, यसपालीको दशैं अपवित्र हुने भयो भन्दै उ फत्फताउन थाल्छ। मन्दिरमा भएका मध्ये एकदुई जनाले पुजारीलाई सघाउँछन् अरू आस्चर्यमा पर्छन्, हाम्रो गाउँमा दलितले मन्दिर पस्ने आँट गर्‍यो भनेर। कसैले पनि विचरा भनेर सहानुभूति सम्म जनाउँदैनन्। बरु गाली गर्ने अझ एकदुईजना थपिँदै थिए। त्यसपछि दुबै सरासर घरतिर जान्छन्।

त्यस दिन सुन्तलीले चुलोमा आगो बालिन। घनश्याम पनि राती अबेरसम्म टोलाएर बसिरह्यो। राती १० बजेतिर घनश्यामसँग सल्लाह गर्न वीरे आइपुग्यो। "हेर दाजु ! हामी पुराना मान्छेहरूले त यहाँ कुकुरले जति सम्मान पाएका छैनौँ, तिमी त झन नयाँ छौ। तर अब यिनीहरूले जे गरे पनि सहेर बस्नु चाहीँ हुँदैन" बीरेले सान्त्वनाको भावसँगै आँट दिएझैँ गर्‍यो। वीरेसँगको कुराकानीमा रातको दुई बज्यो। त्यो घटनाको आधारमा पुजारी र अरू गाउँलेका विरूद्ध मुद्दा हाल्ने निर्णय गरी पल्लो गाउँको जगत विश्वकर्मासँग सल्लाह माग्न बिहानै जाने निधो गरे। त्यसपछि वीरे आफ्नो घरतिर लाग्यो। उनीहरूले अदालतमा मुद्दा दर्ता गरे, मुद्दा पनि जिते। मुखिया, पुजारी र अरू दुई जनाले एक लाख जरिवानासहित तीन-तीन वर्षको जेल सजाय पनि काट्‍नुपर्ने भो। घनश्याम खुसीले करायो। सुन्तलीले उसलाई घच्चच्याई, "के भो किन चिच्याएको ?" उ जुरुक्क उठ्‍यो। सुन्तली भने त्यसबेला सम्म जागैथिई। त्यहीबेला छिमेकमा भाले बासेको आवाज आयोः कुखुरी काँ ...।

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes