गीत

टीका चाम्लिङ

शहर किन नबसेको, भन्छन् सबै साथीभाइ
म त भन्छु सकिएन कस्न आफ्नै छातीलाई

गाउँबाटै शुरु भयो, मेरो आवाज गीत-सङ्‍गीत
पूर्णिमाको रातसरि मेरो समाज मेरो अतीत
रहर किन नफेरेको भन्छन् सबै साथीभाइ
म त भन्छु सकिएन साट्‍न आफ्नै छातीलाई

पानी पिउनै गाह्रो त्यहाँ, फेर्दा सास धुमिल धुवाँ
कहाँ पाउनु रमितेको चिसो बतास सिमको कुवा
कहर किन नखेपेको, भन्छन् सबै साथीभाइ
म त भन्छु सकिएन ढाट्‍न आफ्नै छातीलाई

खोटाङ, नुनथला
हालः काठमाडौँ

तापक्रम

-जोतारे धाइबा

हावा चलेको साँझ
तिमीभरि उडिरहेँ ।


कहिले टाढाटाढै
तिम्रो छोटो इशाराले
नजिकिएँ
कहिले छेउकै आमनेसामनेमा
लामो सम्बोधनले
बहकिएँ ।


आँखामा अनन्त वेदनाझैँ
गाँसिएथे चपक्क ती युगल हात

एकैछिन त रहेछ
तर न्यानो ।

सहरका नागबेली सपनाहरूमा
घुमिरह्यो
दिमागको असिनपसिन पयर

हिउँ त रहेछ
तर यात्रा ।

यति गर्मी छ यति
तिमीले दिएको
मेरो गलाभरिको मुलायम मफलर
छ्‍याप्पै भिजेको छ ।

अब त
बसिसक्नु कहाँ छ र

तिम्रो सतहबाट
दूर-दूरको विरही लयमा
वाफ भएर उड्‍दै छु ।

-उदयपुर ।
dhaibaji@gmail.com
(फागुन १२ आइतबार २०६४, नक्साल)

कविता


जिन्दगी

*अनिता शिवाकोटी

सल्किएको चुरोट
उडेको धुवाँ
अनि एस्ट्रेको खरानी,
तिमीले जस्तै
मैले पनि देखेँ,

तर धुवाँ र खरानीबीच
पग्लिरहेको
निकोटीनको मन्द नशा
मैले देखिनँ,
मैले बुझिनँ ।

- सानेपा, ललितपुर

कविता


अन्तिम भ्यालेन्टाइन

* रमेश सफर निरौला


यसपालिको भ्यालेन्टाइन
नधुम्मिएरै बित्यो

सायद
तिम्रो र मेरो सम्बन्धमा पनि
आगामी वसन्तमा
झ्याम्म पालुवा लाग्ला कि,
ढकमक्क फूल फुल्ला कि !

लक्षण हेरेर भविष्यको कल्पना गर्ने
म र मजस्ता
आशातीत भविष्य खोज्नेको जीवनमा
एकथुँगा कतै लागेमा
त्यो तिमीमा समर्पित हुनेछ ।

उता बर्खा लागेपछि पनि
हाम्रो सम्बन्ध नरुझोस्
थर्कमान आकाशसँग
हाम्रो सम्बन्ध नजुझोस् ।
त्यसै समय,
म बर्खे समाहा भएर झर्नेछु
तिम्रा गह्राहरूमा
के तिमी मलाई थुन्न सक्छौ
आफ्ना मजबुत आलीहरूले ?

- कुभिण्डे, खोटाङ
हाल - त्रि.वि.कीर्तिपुर ।

गजल

इन्दिरा इन्दु

धर्तीमा जन्मिएँ म धर्तीकै सम्मान छैन
केका लागि जन्मिएँ त्यो पहिचान छैन ।

सजीव हुँ परिभाषा लगाउनु पर्दैन,
हेर मानव भएँ भन्ने अभिमान छैन ।

चाहना र समस्या हजारौँ मनमा,
समाधान कसरी त्यसको ज्ञान छैन ।

कसलाई समात्ने अधुरा सपना बोकी,
सत्यता ठूलो धर्म हो बेइमान छैन ।

बाँच्नुको सार अझसम्म बुझ्न नसक्दा,
'इन्दु' लाई बचाउने भगवान् छैन ।

- दियाले, ओखलढुङ्गा ।

नभनूँ भनेर

* सुको साइबर

त्यसरी
रिसाएर हिँड्दा
हिँड्ने बेलामा त्रि्रा हातका चुरीहरू
छिन्द्रिङ् - छिन्द्रिङ् बजेका भए
मलाई पनि
फकाउन मन लाग्थ्यो होला

रिसाउनुअघि नै
छलेर हेरेथेँ आँखा
जिउमा टमक्क मिल्ने
गुन्यू-चोली थिएन
निधारमा बाटुलो
टिकी पनि देखिनँ
पाउका पाउजुहरू
छिन्छिन् गर्दै छिनछिनाएका भए
एकचोटिलाई बिराएँ
'माफी देऊ है' भन्थेँ
माफी माग्दा पनि
आनन्द आउँथ्यो होला...

औँलाको औँठी मात्र
देखेको भए पनि
हातै समातेर भन्थेँ-
' रिसाउँदा'नि आफ्नै
खुसी हुँदा' नि आफ्नै...'

नदेखेपछि ती सब
तिमीसँग बोल्नै मन लागेन
तिमीलाई केही
भन्नै मन लागेन ।

- निजगढ् ७, बारा ।
sukocyber@hotmail.com

तिर्खा

* अज्ञात युवक

मरुभूमिको बीचबाट
म आहृवान गरिरहेछु,
तिम्रा प्यासहरूलाई
पानी-पानी बनाइदिनेछु ।

तिर्खामा
जब घाँटी खसखस गर्दछ
म स्वयम् मरुभूमिमाथि
तिम्रो प्यास सुन्न विवश छु ।

- बालुवा ५, सुन्ताखान
काठमाडौँ ।

दुई कविता


* सविना सिन्धु
यस्तो परिवर्तन
पर्खालहरू भत्किए
सडकहरू फैलिए
खहरे उर्लिएझै उर्लिनेहरू
हिलो भई थेप्चिए
तर आफ्नै झोपडी नियालीहेर्दा
बाँकी रहेछन् आवाजहरू
सत्य सीमा कोर्ने
तिमी, म र हामीबीच ।

अँध्यारो गल्ली

सबेरै यसैगरी डुल्ने गर्छन्
हावा नियमित झोक्काहरू
गल्लीको अँध्यारो हुँदै हराउँछ
कालो कोट र कोटसँगै
भएको वजनदार शरीर,
पहाड खसूँलाझैँ गरेर हेरिरहन्छ
अग्लो घरको दक्षिणपट्टि
केटाकेटीहरू गट्टा खेल्छन्
सडक साँघुरिँदै जान्छ
मान्छे हराउँछ
अँध्यारो गल्लीभित्र ।

- कपिलाकोट ९, सिन्धुली ।

गीत


* उमेश राई 'अकिञ्चन'

सबैभन्दा ठूलो भन्नु आमा तिम्रो माया रै'छ
संसारमा भाग्य भन्नु आमा तिम्रो छाया रै'छ

शक्ति भन्नु, साहस भन्नु आमा तिम्रो साथ थियो
आशिष् भन्नु, आफ्नो भन्नु आमा तिम्रो हात थियो
मन भयो शून्य-शून्य, आँखा बन्यो खाली-खाली
सपना नै डढ्यो सबै के पो खोजूँ आँसु बाली

धेरै कुरा भन्नु थियो तर छैनौ तिमी आमा
सबै कुरा छ तर मात्र छैन तिम्रो माया
आमा तिम्रो आशिष्‌बिना हिँडेको छु चिसो बिहान
मुटुभरि तिम्रो श्रद्घा, सबैभन्दा तिमी महान् ।

- कोशी प्रोजेक्ट, विराटनगर ।

अन्तिम घोषणा

जनक पौड्याल

यो क्षितिज पारिसम्म फैलिएको
तिम्रो सम्झनाको बादल
आज झरी बनेर आयो

बताससँगै पसेकी तिमी
मेरो आलमारीभित्रै पुग्यौ,
मैले थन्क्याएको
प्रेमको रेसमी अतीतलाई
लछप्पै भिजाएर गयौ ।

छामेँ
आलमारीमा थन्क्याएको मेरो मन
चिसो-चिसो
हेरेँ
एकजोडा मेरै आँखा
ओसिला-ओसिला

एकै झोक्कामा
तिमीले उदाङ्गो बनाएको
मेरो आलमारी
खुल्लै छाडेको छु

आऊ अझै
भिजाएर जाऊ
मैले सुकाएको
मेरै सपनाको बिस्कुन
उडाएर लैजाऊ
मैले टाँगेको
मेरै जिन्दगीको
एउटा थोत्रे कमिज

अर्को झरी पर्दासम्म
म मरुभूमिको यात्रामा
निस्किसकेको हुनेछु ।


- लखनपुर, झापा ।
autakatha@yahoo.com

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes