फर्केको खोलो

अनिता दुलाल
मिर्मिरेमै सुन्तली पानी लिन डोकोमा गाग्रो बोकेर पँधेरोतिर लाग्छे । पँधेरो गाउँबाट धेरै टाढा थिएन । वनजङ्गलको हरियाली, चराचुरुङ्गीहरूको मधूर गुञ्जन, अन्य प्राकृतिक छटाले भरिपूर्ण उसको गाउँ रमाइलो थियो । उ गुनगुनाउँदै पधेँरो पुग्छे ।
पधेँरोमा धेरै आईमाईहरू पानी भर्न पालो पर्खेर बसेका थिए । उनीहरू आ-आफ्नै कुरामा व्यस्त थिए । सुन्तली पधेँरोतिर एक पाइला सार्न नपाउँदै एउटी अधबैँसे आईमाई कराउन थाल्छे- "तँ अछुत पनि पानी लिन आइस् ? पर जा ! सबैले लिइसकेपछि मात्र पाउँछेस् ।" यस्तै-यस्तै वचनहरू एकपछि अर्को गर्दै सबैले भन्छन् । त्यस्ता वचनले उसको मन रुन्छ, अनि आँखा ।

सबै गइसकेपछि उ पछयौरीले आँसु पुछ्‍दै पानी भर्छे । पिठ्‍यूँमा पानीको गाग्रो अनि गहभरि आँसु लिएर सुन्तली घर पुग्छे। उसको लोग्ने घनश्याम दलानमा बसेर लुगा सिउँदै हुन्छ । सुन्तलीको आँसु देखेर 'के भयो' भनी सोध्छ। सुन्तलीले पँधेरोमा भएका सारा कुरा बताउँछे। घटनाको वृतान्त सुनिसकेपछि घनश्यामको मन अशान्त हुन्छ। सुन्तलीको जस्तै उसको मन पनि पीडाले भत्तभत्ती पोल्छ। उसको आँखाबाट आँसुका दुईचार थोपा खस्छन्। आँसु पछ्‍दै उनीहरू आफ्नो भाग्यलाई दोष दिदै मन बुझाउने प्रयत्न गर्छन्।

त्यसपछि सुन्तली भान्साको काम गर्न भित्र पस्न लाग्दा गाउँका सर्वमान्य व्यक्ति जितमान मुखिया आइपुग्छन्। बाहिर लुगा सिउँदै गरेको घनश्यामले मुखियालाई देख्छ र हतार-हतार सियो फाल्दै मुखियाको लागि भनेर गुन्द्री ओछ्‍याउँछ र बस्न अनुरोध गर्छ। मुखिया झोक्किँदै कराउँछन्- 'तँ दमाईको घरमा बसेर मलाई जात फाल्नु छैन, बुझिस‍ ओइ डुम ?' मुखिया घनश्यामलाई ठूल्ठूला आँखाले तर्दै गाली गर्दै हुन्छन्। मुखियालाई दिन अम्खोरामा पानी लिएर आएकी सुन्तली मुखियाको प्रचण्ड स्वर सुनेर डरले खङ्‍रङ्ग हुन्छे। उ थरर काम्छे अनि अम्खोरा भूँइमा राखेर भित्तोमा अढेस लाग्छे। त्यस बेलासम्म उसले अघि पँधेरोमा भएको घटना बिर्सिसकेकी थिई। अहिले उ पँधेरोको घटना र अहिले उसको आगनको प्रत्यक्ष दृष्य एकैचोटी देखिरहेकी छे।

सुन्तलीले आफूलाई पानी दिन ल्याएकी थिइ भन्ने कुरा मुखियाले बुझ्छन्। त्यसपछि कुद्‍दै गएर भूँइमा राखेको आम्खोरालाई लात्ताले हानेर लडाई दिन्छन‍। गाउँमा नयाँ आएको दमाइले सिलाउँदा आफ्नो कपडा त बिगारेन भनेर हेर्न आएका मुखिया रिसाउँदै त्यत्तिकै फर्किन्छन‍। मुखियाले जस्तो व्यवहार गरे पनि सहेर बस्नु सिवाय उनीहरूसँग अर्को विकल्प हुँदैन। उनीहरू आएको गाउँमा पनि माथ्ला जातकाले छोइछिटो गर्दै नगर्ने होइनन्। तर सबैले मान्ने गाउँकै ठूला मान्छे मुखियासँग भने उनीहरुको यसभन्दा पहिले यस्तो कहिल्यै भएको थिएन। उनीहरू अर्को छिमेकी जिल्लाबाट बँसाई सरेर आएको महिना दिन पनि भएको थिएन। गाउँलेहरूसँग घुलमिल पनि भएका थिएनन्। गाउँमा भएको दुर्इचार घर दलित परिवारसँग मात्र उनीहरूको आउजाउ हुनथालेको थियो।

त्यो घटना भएको केही महिनापछि गाउँभरि दशैंको रौनक छाउँछ। सारा गाउँ रमाइलोमा चुर्लुम्म डुब्छ। सुन्तली र घनश्यामको दैलोमा पनि दशैं त आउँछ तर खुसी आउँदैन। बरु फेरि एउटा अर्को दु:ख पर्छ उनीहरूलाई। दशैँको दिन उनीहरू गाउँ नजिकैको मन्दिर जान भनेर निस्किन्छन्। गाउँलेको दशैंको रमभmम देखेर उनीहरू आफ्नो घरको दशैं बिर्सन्छन्। तर मन्दिरमा दर्शन गर्न गएका उनीहरूलाई पुजारीले गाईवस्तु धपाएजस्तै गरी घोक्र्‍याएर बाहिर निकालिदिन्छ। र, यसपालीको दशैं अपवित्र हुने भयो भन्दै उ फत्फताउन थाल्छ। मन्दिरमा भएका मध्ये एकदुई जनाले पुजारीलाई सघाउँछन् अरू आस्चर्यमा पर्छन्, हाम्रो गाउँमा दलितले मन्दिर पस्ने आँट गर्‍यो भनेर। कसैले पनि विचरा भनेर सहानुभूति सम्म जनाउँदैनन्। बरु गाली गर्ने अझ एकदुईजना थपिँदै थिए। त्यसपछि दुबै सरासर घरतिर जान्छन्।

त्यस दिन सुन्तलीले चुलोमा आगो बालिन। घनश्याम पनि राती अबेरसम्म टोलाएर बसिरह्यो। राती १० बजेतिर घनश्यामसँग सल्लाह गर्न वीरे आइपुग्यो। "हेर दाजु ! हामी पुराना मान्छेहरूले त यहाँ कुकुरले जति सम्मान पाएका छैनौँ, तिमी त झन नयाँ छौ। तर अब यिनीहरूले जे गरे पनि सहेर बस्नु चाहीँ हुँदैन" बीरेले सान्त्वनाको भावसँगै आँट दिएझैँ गर्‍यो। वीरेसँगको कुराकानीमा रातको दुई बज्यो। त्यो घटनाको आधारमा पुजारी र अरू गाउँलेका विरूद्ध मुद्दा हाल्ने निर्णय गरी पल्लो गाउँको जगत विश्वकर्मासँग सल्लाह माग्न बिहानै जाने निधो गरे। त्यसपछि वीरे आफ्नो घरतिर लाग्यो। उनीहरूले अदालतमा मुद्दा दर्ता गरे, मुद्दा पनि जिते। मुखिया, पुजारी र अरू दुई जनाले एक लाख जरिवानासहित तीन-तीन वर्षको जेल सजाय पनि काट्‍नुपर्ने भो। घनश्याम खुसीले करायो। सुन्तलीले उसलाई घच्चच्याई, "के भो किन चिच्याएको ?" उ जुरुक्क उठ्‍यो। सुन्तली भने त्यसबेला सम्म जागैथिई। त्यहीबेला छिमेकमा भाले बासेको आवाज आयोः कुखुरी काँ ...।

1 :: प्रतिक्रिया:

Anonymous said...

it's nice story.. u too hehe better to put ur email id in next series, la.. c0z that cab make us to be a good frenship..

Post a Comment

 
Design by Wordpress Theme | Bloggerized by Free Blogger Templates | coupon codes